काठमाडौं, असार ११ :

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिँदा प्रतिनिधिसभामा प्रभाव नपरे पनि राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्न सक्ने देखिएको छ।

सरकारमा सहभागी जसपाले समर्थन फिर्ता गरेमा सत्तागठबन्धनको संख्या घट्ने भएकाले राष्ट्रिय सभामा आवश्यक बहुमत जुटाउन कठिन हुने अनुमान गरिएको छ।

राष्ट्रिय सभामा कुल ५९ सदस्यमध्ये माओवादी केन्द्रसँग १७ सांसद छन्, जुन सबैभन्दा ठुलो संख्या हो। नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोकतान्त्रिक समाजवादी पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ तथा ३ जना राष्ट्रपतिद्वारा मनोनित सदस्य छन्।

जसपाका सांसद प्रकाश अधिकारीका अनुसार पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ। यद्यपि संसदीय दलको बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन। संसदीय दलका नेता उपेन्द्र यादवले उपयुक्त समयमा बैठक बोलाउने छन् ।