
काठमाडौं, असार ११ :
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा त्यागेका छन् । प्रहरी सहायक हवल्दारको पदमा कार्यरत ऐरीको राजीनामा नेपाल प्रहरीले स्वीकृत गरिसकेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् । ‘उहाँको राजीनामापत्र प्राप्त भइसकेको छ र औपचारिक रूपमा स्वीकृत पनि भइसकेको छ,’ प्रवक्ता घिमिरेले जानकारी दिए ।
क्रिकेट र सुरक्षा सेवा दुवैमा सक्रिय रहेका ऐरीले पछिल्लो समय खेलकुदतर्फ ध्यान केन्द्रित गर्दै आएका थिए । उनले राष्ट्रका लागि महत्त्वपूर्ण खेल प्रदर्शन गर्दै आइरहेका छन् । ऐरीको राजीनामापछि अब उनी पूर्ण रूपमा खेल क्षेत्रमा केन्द्रित हुने अनुमान गरिएको छ ।