
टिकटकमा राजनीतिक तथा सामुदायिक संवेदनशीलतासम्बन्धी विवादास्पद सामग्री पोस्ट गरेको अभियोगमा पक्राउ परेकी रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।
न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले असार १३ गते बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको हो। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की स्थायी बासिन्दा बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
३१ वर्षीया बस्नेतमाथि सामाजिक सञ्जाल टिकटकमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थामाथि तथ्यहीन तथा भ्रामक सामग्री सार्वजनिक गर्ने जस्ता आरोप लागेको छ। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको अभियोगमा अनुसन्धान गरिरहेको थियो।
बस्नेतले हालै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीलाई लक्षित गर्दै आलोचनात्मक सामग्री टिकटकमा पोस्ट गरेकी थिइन्।