चीन, असार १३ :

सांघाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङ्जीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा मन्त्री खड्काले चीन सरकारद्वारा प्रदत्त आत्मीय आतिथ्य र एससीओ ऊर्जामन्त्रीस्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै, आयोजनाको सफल समापनका लागि बधाई ज्ञापन गरे ।

भेटवार्तामा नेपाल-चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा चीनका ऊर्जा प्रशासक वाङ होङ्जीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट गरे । उनले दुई देशबीच ऊर्जा सुरक्षाको अभिप्रायले दीर्घकालीन सहकार्यका ढोका अझ फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

नेपालले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनामा लगानी र प्रविधि हस्तान्तरणको अपेक्षा पनि व्यक्त गरेका छन् ।

दुवै पक्षले आगामी दिनमा प्राविधिक टोलीहरू आदानप्रदान गर्दै सहकार्यको व्यवहारिक पक्षलाई थप संस्थागत बनाउने सहमति गरेका छन् ।