काठमाडौं, असार १३ :

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकमा निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा सहमति जुटेको छ ।

निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए ।

प्रारम्भिक बाल विकास शिक्षालाई दुई वर्षको बनाउने सहमति भएको छ । स्थानीय तहले राष्ट्रिय मापदण्डको अधिनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेगरी सहमति भएको हो । समितिको बैठक शनिबार पनि बोलाइएको छ । शनिबारै विधेयक पारित गर्ने समितिको तयारी छ ।