काठमाडाैं, असार १४ :

पछिल्लो समय राजनीतिक वृत्तमा चासोको विषय बनेका प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार एउटै मञ्चमा देखिएका छन्। 

मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीमा दुवै नेताको उपस्थिति केवल औपचारिक होइन, गहिरो राजनीतिक संकेत बोकेको देखिन्छ।

कार्यक्रममा ओली प्रमुख अतिथि र भण्डारी विशेष अतिथि थिए। गोष्ठी एमालेको वैचारिक नारा ‘जनताको बहुदलीय जनवाद (जबज)’ को तीन दशकको मूल्याङ्कनका रूपमा प्रस्तुत गरिएको थियो। तर, छोटो समयावधिमा दुई नेताबीच बढेको तिक्तता र पूर्वराष्ट्रपतिका पछिल्ला राजनीतिक सन्देशहरूले कार्यक्रमलाई विशुद्ध वैचारिक भन्दा बढी शक्ति सन्तुलनको प्रयासका रूपमा विश्लेषण गरिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई २०७५ सालमा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउँदा ओली नै निर्णायक भूमिकामा थिए। तर, कार्यकाल सकिएपछि भण्डारीले एमालेभित्र सक्रिय भूमिका खेल्न थालेपछि ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपन आएको बताइन्छ। पार्टीभित्रै उनलाई समानान्तर शक्ति केन्द्र बनाउन खोजिएको भनी आलोचना हुँदै आएको छ।

भण्डारीका केही अभिव्यक्तिहरू जसमा उनले ओली नेतृत्वको आलोचना परोक्षरूपमा गरेकी थिइन्, ती पार्टीभित्र थप तरंग ल्याएका थिए।

एमालेले जबजलाई ३० वर्षपछि पुनः सशक्त बनाउन आयोजना गरेको राष्ट्रिय गोष्ठी एक किसिमले वैचारिक दृढता प्रदर्शन गर्ने थलो हो। ओली र भण्डारीको एउटै मञ्चमा देखिनु सहकार्यको संकेत हो कि असहज सहमति, यसबारे निश्चित भन्न गाह्रो छ। तर, एमालेभित्र शक्ति केन्द्रको संघर्ष, वैचारिक लाइनको प्रतिस्पर्धा र भावी नेतृत्वको समीकरणमा यो उपस्थिति निर्णायक मोड हुनसक्छ।

यदि भण्डारी पार्टीभित्र औपचारिक भूमिकाका लागि अग्रसर हुन्छिन् भने ओलीका लागि अबको रणनीति नजिक राखेर सन्तुलन गर्ने देखिन्छ। यसले पार्टीभित्रको गुटगत चापलाई केही समय सहज बनाउने भए पनि दीर्घकालीन रूपमा नेतृत्वको बहस फेरि बलियो बनाउने संकेत दिन्छ।

भण्डारीको विशेष आतिथ्य र ओलीसँगको  सम्बोधनलाई विश्लेषकहरूले दुई तहमा हेरेका छन् । एकातिर ओलीले भण्डारीको सक्रियता नियन्त्रण गर्न सहमतिको बाटो रोजेका हुन्, अर्कातिर भण्डारीले पनि आफू एमाले नेतृत्वसँग सहकार्यका लागि खुला रहेको संकेत गरेकी हुन्।
ओलीप्रति असन्तुष्टि भए पनि उनी अहिलेको सन्दर्भमा पार्टीभित्रै प्रभाव जमाउने रणनीतिमा छिन्।

२०५० सालमा दासढुङ्गा दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको निधन भएको थियो। आज ओली र भण्डारी दुवैजनाले जननेता मदन भण्डारीको विचार र सिद्धान्तको पुनः स्मरण गरेका छन् ।