
एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज (आइतबार) नेपाली युवा टोलीले इन्डोनेसियाविरुद्ध खेल्दै छ ।
मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा बिहान ७.४५ मा खेल सुरु हुनेछ ।
समूह ‘ए’ मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै ३ खेलमध्ये एकमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ । समूह चरणका तीन खेलमा हार भोगेको भुटान अंकविहीन रुपमा पुछारमा छ ।
समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ । समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।