काठमाडौं, असार १५ :

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले न्यायिक प्रक्रियालाई पारदर्शी र छिटो-छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकमा उनले मुद्दा समयमै टुंग्याउन तथा इजलासको बहसको समय व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राख्ने बताए ।

पौडेलले फरक मुद्दा व्यवस्थापन पद्धति उच्च अदालत र जिल्ला अदालतमा लागु भइसकेको उल्लेख गर्दै यसलाई सर्वोच्च अदालतमा पनि विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘यो प्रणाली आईटी आधारित भएकाले आवश्यक पूर्वाधार र सफ्टवेयरको अभाव छ, तर विस्तार गर्न सकेमा न्यायपालिकाप्रतिको अनास्था हटाउन मद्दत पुग्छ ।’

उनले अनावश्यक पेसी स्थगनलाई निरुत्साहित गर्न, मुद्दाको प्रकृतिअनुसार बहसको समय निर्धारण गर्न र जटिल मुद्दामा बार एसोसिएसनलगायत निकायसँग छलफल गर्दै समय व्यवस्थापनमा पहल गर्ने बताए । साथै, अनलाइन मुद्दा दर्ता, सूचना प्रविधिको विकास र न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय भूमिका रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।