काठमाडौं, असार १५ :

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा बढ्दो गालीगलौजको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । उनले संसद्मा गालीगलौज बन्द नभए कांग्रेसले पनि प्रतिवाद गर्ने चेतावनी दिए।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद घिमिरेले संसद्‌ सुरु हुनेबित्तिकै चोर, फटाहा, मानव बेचुवा जस्ता अमर्यादित शब्द प्रयोग गर्ने परम्परा विकसित हुँदै गएको उल्लेख गर्दै यस्ता शब्दले संसदीय मर्यादामा गम्भीर आघात पुगेको बताए। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही सांसदहरूलाई लक्षित गर्दै गालीगलौजको क्रम बढेको टिप्पणी गरे।

उनले भिजिट भिसा प्रकरण संसद् र सरकार दुवैले गम्भीरतापूर्वक लिएको तथा यसबारे समिति गठन भइसकेको स्मरण गराउँदै निरन्तर गालीगलौज हुनु अस्वीकार्य भएको जनाए।

‘दैनिक संसद्‌को कारबाही सुरु भएपछि उठ्ने र गालीगलौज गर्ने प्रक्रिया अन्त्य हुनुपर्छ,’ उनले भने, ‘नभए हामी पनि प्रतिवादमा उत्रन बाध्य हुनेछौं।’