
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने भएपछि उनले आगामी साउन १ देखि लागु हुने गरी सेवासुविधा नलिने तयारी गरेकी हुन् । सरकारी सेवासुविधा लिएर पार्टीगत राजनीतिक गर्न नहुने भन्दै उनको चर्को आलोचना भइरहँदा प्राप्त सुविधा त्याग गर्ने अवस्थामा पुगेकी हुन् । दुई-दुईपटक राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई किन राजनीतिक गर्न मन लागेको होला भनेर सर्वसाधारणको मनमा जिज्ञासा पलाएको छ ।
त्यसो त उनले शीतलनिवासबाट फर्कंदै गर्दा पूर्वराष्ट्रपतिको हैसियतमा पाउने केही सुविधा छाड्ने निर्णय गरेर चपलीस्थित आफ्नै निवासमा बस्दै आएकी छन् । पार्टीगत राजनीतिमै होमिने भएपछि बाँकी सेवा-सुविधा पनि फिर्ता गर्ने तयारीमा उनी छिन् ।
असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका उनले एमालेसँग जोडिएर सक्रिय भएर राजनीतिमा लाग्ने घोषणा मात्र गरिनन् कि पार्टीको सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी गराएकी थिइन् ।