
फाइल तस्बिर।
आन्तरिक र खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिको विषयमा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच सोमबार भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन।
शिक्षक महासंघले आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत पदपूर्ति हुनुपर्ने माग राखेको थियो। तर, शिक्षा मन्त्रालयले उक्त प्रस्ताव अस्वीकार गर्दै खुला प्रतिस्पर्धाबाट ६० प्रतिशत र आन्तरिकबाट ४० प्रतिशत शिक्षक छनोट गर्नुपर्ने अडान राखेपछि सहमति जुट्न सकेन।
यो विषयमा सहमति जुटाउन शिक्षा मन्त्रालयले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर शिक्षक महासंघसँग छलफल थालेको थियो। तर, अन्ततः कुनै सहमति नभएपछि बैठक निष्कर्षविहीन टुंगिएको हो।
यसअघि संसदीय उपसमितिले खुलाबाट ४० र आन्तरिकबाट ६० प्रतिशत प्रतिस्पर्धा हुने सुझाव दिएको थियो। महासंघ र मन्त्रालयबीचको मतभेदका कारण शिक्षक सेवा सम्बन्धी निर्णय प्रक्रिया अन्योलमा परेको छ।