
संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले यस प्रकारको स्वतन्त्र आयोगले अल्पविकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिनसक्ने बताए ।
‘यो आयोग स्थापनाको पहलका लागि म खुसी व्यक्त गर्दछु । यसले सामाजिक र आर्थिक विकासमा सहायता वृद्धि भई लगानीको प्राथमिकता र विश्लेषणका लागि सन्तुलन मिलाउन सहयोग गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘पेरिस सम्झौतासमेतका आधारमा विश्वको समग्र आर्थिक अवस्था, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनको मूल्याङ्कन गरी आर्थिक दिगोपनामा लाग्नुपर्छ ।
नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको अवस्थामा हामीजस्ता मुलुकका लागि विकासमा रहेको आर्थिक खाडल पूर्तिका लागि विश्व आर्थिक प्रणालीको पुनरवलोकन गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।