क्वालालम्पु, असार १७ :

नेपाली यू–१६ क्रिकेट टोलीले एसिसी यु–१६ इस्ट जोन कपको लिग चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको विशाल जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको सबै चार खेलमा जित निकाल्दै नेपाल अपराजित रह्यो र ८ अङ्कसहित शीर्ष स्थानमा रह्यो।

मलेसियाको क्वालालम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रनको विशाल योगफल बनायो। जवाफमा भुटानको टोली ३२.४ ओभरमै ६० रनमा अलआउट भयो।

नेपालको जितमा ब्याट्सम्यान रौनक श्रीवास्तव र बलर विपिन प्रसाद शर्माको मुख्य भूमिका रह्यो।
रौनकले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १ सय ६८ रनको विस्फोटक इनिङ खेले। यो उमेर समूहको प्रतियोगितामा नेपाली खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक स्कोर हो। उनले जय थापासँग पाँचौं विकेटका लागि १६१ रनको साझेदारी गरे।

जय थापा ६७ बलमा ७ चौकासहित अविजित ६१ रनमा नटआउट रहे। यस्तै सुगम बुढाथोकीले ३५ रन जोडे भने सिवान्स बजगाईले ५४ रन बनाए। नेपालका ओपनर परिमार्जन यादव २ र प्रसिद्ध जैसी ७ रनमा आउट भए।

भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिङ जाम्त्सोले १ विकेट हात पारे। बलिङतर्फ नेपालका लागि विपिन प्रसाद शर्माले ६ ओभरमा ४ मेडन राख्दै मात्र ७ रन खर्चिएर ४ विकेट लिए।सचिन भट्टले ७ ओभरमा ५ मेडन राख्दै १३ रन दिएर २ विकेट लिए। सुयोग भट्टराईले पनि १ विकेट हात पारे।

भुटानका लागि शेजाङ दावाले सर्वाधिक १४ रन बनाए भने ओपनर उग्यान केल्जाङ चोपेलले १० रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। नेपालले अतिरिक्त २२ रन दिएको थियो।

नेपाल रहेको समूह ‘ए’ बाट सिंगापुर उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’ बाट हङकङ विजेता र मलेसिया उपविजेता बनेका छन्। अब सेमिफाइनलमा नेपालले मलेसियासँग तथा हङकङले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।

 

May be an image of 1 person and text