
तस्बिर : एन्फा
एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपाल र श्रीलंकाबीच आज (बुधबार) प्रतिस्पर्धा हुँदै छ ।
उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ६ बजेबाट खेल सुरु हुनेछ । पहिलो खेलमा नेपालले लाओसमाथि ९-० को सनसनीपूर्ण जित हासिल गरेको थियो । श्रीलंकासँगको खेलमा पनि नेपाल जितको खोजीमा छ ।
नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेलसमेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानका रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् । उनी एक्लैले ४ गोल पनि गरिन् ।
यसअघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०-० को फराकिलो हार बेहोरेको थियो । महिला फुटबलमा अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमनेसामने भएका छन् । जसमा नेपाल अपराजित छ । फिफा वरीयतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।
जारी प्रतियोगिताको समूह ‘एफ’मा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । समूहको शीर्षमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।