काठमाडौं, असार १८ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सम्पूर्ण सरकारी सेवा-सुविधाहरू फिर्ता  गरेकी छन्। उनले गृह मन्त्रालयमा औपचारिक निवेदन पठाउँदै आजकै मितिबाट लागु हुने गरी सुविधा त्याग गरेकी हुन्।

भण्डारीका निकट स्रोतका अनुसार, ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा-सुविधा फिर्ता गर्ने निर्णय गृह मन्त्रालयलाई जानकारी गराइएको छ। उनी अब कुनै पनि सरकारी सम्पत्ति वा स्रोत प्रयोग नगरी अगाडि बढ्न चाहन्छिन्।’

पूर्वराष्ट्रपति भण्डारी केही दिनअघि मात्र नेकपा एमालेमा रहेर सक्रिय राजनीतिमा फर्कने घोषणा  गरेकी थिइन्। यही सन्दर्भमा उनले सरकारबाट प्राप्त विशेष सेवा सुविधा त्याग गर्ने निर्णय लिएकी हुन्।

सरकारी सुविधा उपभोग गर्दै राजनीति गर्नु कति उचित ? भन्ने सर्वसाधारको कुरालाई ध्यानमा राख्दै सबै त्यागेर एक सामान्य नागरिकको हैसियतमा राजनीतिक गतिविधिमा सहभागी हुन चाहन्छिन्।

उनको यो निर्णयले सरकारी सम्पत्ति र स्रोत प्रयोग गरेर राजनीति गर्नु उचित होइन भन्ने सन्देश खोजेको छ । यस निर्णयलाई धेरैले स्वागत गरेका छन् । यो कदम नेपालको राजनीतिक संस्कार र नैतिकताको दृष्टिकोणले महत्वपूर्ण उदाहरण बन्न सक्ने देखिन्छ।