काठमाडौं, असार १९ :

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाईंले अविजित २३ रन बनाए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

समूह चरणमा नेपालले भुटानलाई २९८, इन्डोनेसियालाई ३७० रनले हराएको थियो । जापानमाथि ९ विकेट र सिंगापुरमाथि ६ विकेटको जित दर्ज गरेको थियो । आजको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्यो ।

अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।