म्याड्रिड, असार १९ :

प्रधानमन्त्री केपी शर्मा ओलीले समझदारीबमोजिम समय आउनु केही साता अघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

 अहिलेको गठबन्धन र आफ्नो पार्टीभित्र बाहिर चर्चामा आएजस्तो कुनै समस्या र विवाद नभएको पनि उनले स्पष्ट पारे ।

स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारीसँगको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलोले मुलुकमा स्थिरता र विकासका लागि दुई ठुला दलको सहकार्यमा वर्तमान सरकार बनेको समेत स्पष्ट पारे ।

उनले विषम परिस्थितिमा पनि आफूहरुले मुलुकलाई राजनीतिक निकास र स्थायित्व दिँदै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिइने बताए ।

उनले प्रवासी नेपालीलाई नेपालमा फर्केर उपयुक्त पेसा व्यवसायमा संलग्न हुन आग्रह गरेका छन् । विदेशमा सिकेको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशको विकास र समृद्धितर्फ प्रयोग गर्नेक्रम चलिरहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत र सम्मानसहित प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना पनि गरे ।

भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गाना, मेड्रिड कमिटीका अध्यक्ष शिवराज सिग्देल र पोर्चुगलका अध्यक्ष दीपक क्षेत्रीलगायत सहभागी थिए ।