
गर्मी मौसमका कारण अन्डाको उत्पादन घटेसँगै यसको मूल्य लागतनजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।
अन्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । संघले मूल्य समायोजन गरी आजदेखि लागु हुने गरी ठुलो अन्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४९५ रुपैयाँ र मझौला अन्डाको ४६५ रुपैयाँ कायम गरेको छ ।
नेपालमा हाल अन्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ भने नयाँ मूल्यअनुसार किसानले ठुलो अन्डाको प्रतिगोटा १६.५० रुपैयाँ पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानको भनाइ छ ।
दाउन्ने, हिमचुली, खिलुङकाली (जनकपुर एग्रो), सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता फार्मले ठुलो अन्डाको मूल्य प्रतिपेटी तीन हजार ६४५ रुपैयाँदेखि तीन हजार ६६० रुपैयाँ र मझौला अन्डाको तीन हजार ४४५ रुपैयाँदेखि तीन हजार ४६० रुपैयाँ कायम गरेका छन् ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घट्नु, पर्यटकको आगमन वृद्धि र स्कुल-कलेज सञ्चालनले माग बढेपछि मूल्य बढेको हो । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए ।
‘अहिलेको परिस्थिति हेर्दा अन्डाको मूल्य क्रमशः बढ्ने संकेत देखिन्छ,’ पोखरेलले भने, ‘मूल्य बढ्दा किसान उत्साहित छन्, हाल दैनिक २८-३० लाख गोटा अन्डा उत्पादन भइरहेको छ ।’
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि माग र आपूर्तिको असन्तुलनका कारण मूल्य बढेको बताउँछन् । ‘अब केही दिनमै किसानले लागत मूल्य पाउने सम्भावना छ,’ उनले भने ।
कुखुरापालक तथा उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अघिल्लो वर्षको यही समय पनि अन्डाको मूल्य वृद्धि भएको थियो । ‘अहिले पनि यदि किसानले लागत मूल्य नपाए बाँकी रहेका किसान पनि विस्थापित हुनेछन्,’ उनले चिन्ता जनाए । विशेषगरी अत्यधिक गर्मीका कारण अन्डा उत्पादन झन्डै २५ प्रतिशत घट्ने गरेको कृषकको भनाइ छ ।
-रासस