
अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । करिब २५ जना बालिकाहरु बेपत्ता छन्।
ग्वाडालुपे नदीमा आकस्मिक बाढी आएको थियो । जसले केही घण्टामा नदीको सतह २२ फिटले बढाएको थियो ।
बेपत्ता भएका बालिकाहरू हन्ट टेक्सासस्थित क्रिश्चियन समर क्याम्प "क्याम्प मिस्टिक" का हुन् । जुन बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। क्याम्पमा करिब ७ सय ५० बालिकाहरू थिए । बाढीका कारण केही क्याबिनहरू समेत बगाएको रिपोर्ट गरिएको छ ।टेक्सासका कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले बाढीलाई 'विनाशकारी' भनेका छन् । बेपत्ता बालिकाहरू अझै जीवित हुन सक्ने आशा समेत व्यक्त गरेका छन्।
उद्धार कार्यलाई तीव्र बनाएको छ । उद्धार कार्यमा करिब ५ सय जना आपतकालीन कर्मचारी, १४ हेलिकप्टर, १२ ड्रोन, र ९ गोताखोर टोलीहरू परिचालन गरिएको समाचार छ ।स्थानीय अधिकारीहरूले सो क्षेत्रमा बाढीको पूर्व चेतावनी प्रणाली नरहेको स्वीकार गरेका छन् । जसले गर्दा बाढीको प्रभावलाई बढी गम्भीर बनाएको छ ।
यस घटनाले १९८७ मा भएको समान प्रकृतिको बाढीको सम्झना दिलाएको छ जुन घटनामा १० किशोरहरूको मृत्यु भएको थियो ।
बाढीका कारण टेक्सास भरि स्वतन्त्रता दिवसका कार्यक्रमहरू रद्द गरिएका छन् ।अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा बस्न र स्थानीय निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटना भयानक भएको बताउँदै संघीय सहयोग दिने प्रतिबद्धता जनाएका छन् ।