
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटनको अनगिन्ती सम्भावना रहेको उल्लेख गरे । ‘समृद्धिका लागि हामीसँग थुप्रै विकल्प छन्, तीमध्ये सबभन्दा शक्तिशाली क्षेत्र पर्यटन हो,’ उनले भने।
पर्यटन क्षेत्रमा देशभित्र र बाहिरबाट लगानी आकर्षित गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको स्पष्ट पारे। “राज्यको लगानीबाट मात्रै पुग्दैन,’ उनले भने, ‘राज्यले नेपाल एक आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने सन्देश दिनुपर्छ, जसले स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई लगानी गर्न प्रेरित गर्छ।’
बजेट निर्माणको क्रममा पनि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको मन्त्री पौडेलको भनाइ थियो। साथै, उनले राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए।