
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा न खतरा आएको हो न त झुर भएको भन्दै अतिवादी धारणा नअपनाउन आग्रह गरेका छन्।
काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा थापाले विद्यार्थीहरूलाई अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए।
थापाले देशमा केही राम्रो भएको स्वीकार गर्दै अझ अपेक्षित सुधार गर्न नसकिएको बताएका छन्। उनले राम्रो कामका लागि धन्यवाद दिन र कमीकमजोरीका लागि प्रश्न उठाउन आग्रह गरे।
‘कसैले देशमा खतरा आयो भनेर पनि नपत्याउनुस्, र कसैले देश झुर भयो भनेर पनि नपत्याउनुस्,’ भन्दै उनले दुवै ध्रुवीय धारणा भ्रमपूर्ण भएको उल्लेख गरे।
विद्यार्थीहरूलाई सन्देश दिँदै उनले भने, ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्। अडिएर बस्नुस्, नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस्, आलोचनात्मक हुनुस् र रमाइलो पनि गर्नुस्।’
थापाले अबको पुस्ताले आफूहरूभन्दा अझ राम्रो काम गर्ने विश्वास रहेको पनि बताए।