
काठमाडाैं, असार २१ :
संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादबारे छानबिन गर्न संसदमा ७ सदस्यीय विशेष समिति बन्ने भएको छ।
कुलिङ पिरियडको प्रावधानमा देखिएको असहमति र गम्भीर प्रश्न उठेपछि यसको विस्तृत छानबिनका लागि समिति गठन गर्न सहमति जुटाइएको हो।
प्रमुख दलका नेताहरूबीच शनिबार भएको छलफलपछि यस्तो समझदारी भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको हो।
बर्तौलाका अनुसार समिति संसदको नियमावलीको दफा १८० अनुसार गठन गरिनेछ। समितिमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २/२ जना, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ जना सदस्य रहनेछन्। समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गरिने बताइएको छ।