काठमाडौं, असार २२ :

अमेरिकाको टेक्सासको मध्य क्षेत्रमा बाढीका कारण ज्यान जानेको संख्या ४३ पुगेको छ । जसमा १५ जना बालबालिका रहेका छन् ।

नदी किनारमा रहेको एक क्रिश्चियन यूथ क्याम्पबाट २७ जना बालबालिका अझै बेपत्ता भएको केर काउन्टीका अधिकारीहरूले बताएका छन्। हालसम्म करिब ८ सय ५० जनाको उद्धार गरिएको छ।

बाढीग्रस्त क्षेत्रमा उद्धार कार्य अत्यन्तै तिव्र गतिमा भइरहेको जनाईएको छ । धेरैजसो मानिसहरू सुतिरहेको बेला शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएकव थियो ।  एक घण्टाभित्रै नदीमा २६ फिट भन्दा बढी पानि बढेको थियो।

मौसम पूर्वानुमानअनुसार उक्त क्षेत्रमा अझै वर्षा र सम्भावित रूपमा थप बाढी आउन सक्ने खतरा देखिएको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित भएका क्षेत्रहरूमध्ये मोबाइल घरहरू, समर क्याम्पहरू र क्याम्पिङ स्थलहरू रहेका छन्, जहाँ धेरै मानिसहरू ४ जुलाईको स्वतन्त्रता दिवस मनाउन भेला भएका थिए।

उद्धारकर्मीहरू ग्वाडालुप नदी माथि र तल दुबै तिर खोजी कार्यमा संलग्न रहेको अधिकारीहरुले जनाएका छन् किनभने धेरै मानिसहरू बाढीले बगाएको आशंका गरिएको छ।
उद्धारको केन्द्रबिन्दु एउटा ठूलो बालिकाहरुको क्रिश्चियन समर क्याम्प मिस्टिक भएको छ।

शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा टेक्सासका गभर्नर ग्रेग एबटले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउने उद्देश्यले आपतकालीन विपद् घोषणामा विस्तार गरिएको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पको प्रशासनले पनि गभर्नर एबटद्वारा हस्ताक्षर गरिएको संघीय विपद् घोषणालाई मान्यता दिने र राहत सहयोग टेक्सासमा पठाउन सहयोग गर्ने बताएको छ । जबकि ट्रम्पले यसै बर्ष विपद् व्यवस्थापनको जिम्मेवारी राज्यहरूमै सार्ने भनेका थिए ।