भोजपुर, असार २२ :

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा एक व्यक्तिले एकै परिवारका ४ जनाको हत्या गरेको छ ।

भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले आफ्ना सासु,ससुरा,श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । राईले  ससुरा ६८ वर्षीय बेलबहादुर गिरी,सासु मन्जु गिरी र उनका श्रीमती र सालोको हत्या गरेका हुन् । श्रीमती १६ वर्ष र सालो १० वर्षका छन् ।

गएराती सवा १ बजेतिर राई आफैंले  प्रहरीलाई  फोन गरेर ‘ मैले मान्छे मारें,मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेको प्रहरीको भनाई छ ।

लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

राजेन्द्र राईलाई भने घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । उनको अहिले उपचार भईरहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।