काठमाडौं, असार २३ :

सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबार  बैठकमा बोल्दै सांसद साहले जिउँदै इँट्टाभट्टामा जलाएर हत्या गरिएको जघन्य अपराधमा दोषी ठहर भएका आलमलाई सफाइ दिने न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनको निर्णयलाई गम्भीर आपत्ति जनाउँदै महाअभियोगको माग गरेका हुन्।

उनले जनमानस र सञ्चारमाध्यममा उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामका रूपमा व्याख्या गरिएको बताए।

सांसद साहले यदि न्यायाधीशहरूविरुद्ध कुनै कदम चालिएन भने, त्यो गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको सन्देश जान सक्ने बताए। ‘यसले लोकतन्त्र र न्याय प्रणालीमाथि गम्भीर अपमान हुने खतरा बढाउँछ,’उनले भने।

त्यस्तै, सांसद साहले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति हुँदै आएको भन्दै त्यस प्रक्रियालाई तत्काल रोक्न सरकारलाई आग्रह गरे। न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाउन यो अत्यावश्यक भएको उनको तर्क थियो।