बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा
काभ्रे, असार २३ :

मनसुनजन्य विपद्मा काभ्रेको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त सङ्ख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो ।

समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने आँकलन गरिएको हो । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्याङ्कका आधारमा उक्त जनसङ्ख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरेको जनाइएको छ । 

‘विशेषगरी यस वर्षको बाढीपहिराले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौँ,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने ।

ढकालका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा बाढीपहिराको उच्च जोखिम देखिएको छ । समितिलाई प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी रोशी गाउँपालिकामा ५६ बस्ती र सबैभन्दा कम खानीखोला गाउँपालिकामा नौ बस्ती उच्च जोखिममा रहेको जनाइएको छ । रोशीमा एक हजार चार सय ३८ घरपरिवारका तीन हजार छ सय ६२ नागरिक उच्च जोखिममा रहेको पाइएको हो ।

नमोबुद्ध नगरपालिकाकोमा एक हजार एक सय ४२ घरपरिवारका चार हजार चार सय ११ नागरिक प्रभावित हुने आँकलन गरिएको छ । यस्तै पाँचखाल नगरका ४१ बस्तीमा आठ सय ६९ घरपरिवारका पाँच हजार छ सय ६८ नागरिक प्रभावित हुने देखिएको हो । मण्डदेउपुर नगरमा २४ बस्तीका दुई सय ४३ घरका नौ सय ४७ जना नागरिक प्रभावित हुने जनाइएको हो ।

सहरी क्षेत्रमा पर्ने बनेपामा २७ स्थान जोखिममा रहेकोमा आठ सय ११ घरपरिवारका दुई हजार दुइ सय ६१ नागरिक प्रभावित हुने आकलन गरिएको छ भने पनौतीमा १६ बस्तीका दुई सय ८६ घरका एक हजार तीन सय ९५ परिवार प्रभावित हुनसक्ने देखिएको समितिले जनाएको छ । समितिका अनुसार अर्को सहरी क्षेत्र अर्थात् सदरमुकाम धुलिखेलका २५ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका पाँच सय २१ घरपरिवारका एक हजार तीन सय ५१ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

यसैगरि तेमालको ४६ बस्तीमा तीन सय आठ घरपरिवारका आठ सय ५०, बेचानचोकमा १३ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका ७७ घरका २ सय ८८ नागरिक सदस्य जोखिममा रहेका छन् । डाँडापारी क्षेत्रका महाभारतमा १३ जोखिमयुक्त बस्तीमा एक सय ३६ घरपरिवारका पाँच सय ६९, खानीखोलामा नौ उच्च जोखिम बस्तीमा ४७ परिवारका दुई सय ३३ नागरिक उच्च जोखिममा रहेको जनाइएको छ । कोशीपूर्व क्षेत्रस्थित चौँरीदेउरालीको उच्च जोखिममा रहेको ३६ बस्तीका दुई सय ७६ घरपरिवारका छ सय १९, भुम्लुमा उच्च जोखिममा रहेको ३९ बस्तीमा दुई सय २१ घरका सात सय ९१ नागरिक प्रभावित हुने आकलन गरिएको छ ।

गतसाल असोज ११ र १२ गतेको अविरल वर्षामा बाढीपहिराका कारण काभ्रेपलाञ्चोका ७८ को निधन भएको थियो भने छ जना बेपत्ता भएकाको अवस्थामा रहे । उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना रहेका थिए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

बाढीपहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलाञ्चोकमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । मृतकको सङ्ख्या देशभर मृत्यु भएकामध्ये ३१ दशमलव ५६ प्रतिशत रहेको थियो । काभ्रेपलाञ्चोकमा बाढीपहिरामा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी थिए ।

समितिले मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तह, विभिन्न सुरक्षा निकाय, संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । यस्तै विपद्को समयमा तत्कालै प्रयोग गर्न मिल्ने गरी जिल्लाका एक सय ३५ वटा वडामा कम्तिमा प्रत्येक वडामा अथवा नजिकको वडालाई समेटेर हेलिप्याड तयार गरिएको, विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार