
सर्वोच्च अदालतमा नवनियुक्त तीन न्यायाधीशले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले शपथ लिएका हुन्। शपथलगत्तै उनीहरूले गोलाप्रथाबाट इजलास पाएका छन् र आजदेखि नै संयुक्त बेन्चमा काम सुरु गरेका छन्।
नवनियुक्त न्यायाधीशहरूलाई संयुक्त इजलासमा नियुक्त गरिएको छ। मेघराज पोखरेल ले न्यायाधीश विनोद शर्मा सँग,शान्तिसिंह थापाले न्यायाधीश कुमार चुडाल सँग र श्रीकान्त पौडेलले न्यायाधीश मनोजकुमार शर्मासँग संयुक्त इजलासमा काम गर्नेछन्।
शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रतिको जनविश्वास अझ मजबुत बनाउन नवनियुक्त न्यायाधीशहरू समर्पित रहने विश्वास व्यक्त गरे।संसदीय सुनुवाइ समितिले हिजो नै उनीहरुको नाम अनुमोदन गरेको हो। यसअघि न्याय परिषद्ले जेठ २७ गते उनीहरूलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो।