
रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा चीनतर्फबाट आएको बाढीका कारण फसेका ५५ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएका मध्ये ४ महिला, ५१ पुरुष र १ जना चिनियाँ नागरिक छन्। उनीहरूलाई झोलुङ्गे पुल प्रयोग गरी सुरक्षित स्थानमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
हालसम्म बाढीबाट १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगेका छन्। उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली सक्रिय छन्।
बाढीपहिरोबाट भएको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रतर्फ जाने तयारीमा छ।
गृहमन्त्री लेखकले रसुवामा ठुलो विपद् आएको उल्लेख गर्दै अवलोकनपछि आवश्यक निर्णय लिइने बताएका छन्। घटनास्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि जाने जानकारी दिइएको छ।