काठमाडौं, असार २५ :

गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको विषय संसद् उठाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री लेखकले लामिछानेको अमेरिकी बसाइबारे स्पष्टता माग गरे। उनले भने, ‘माननीय रवि लामिछाने जी कुनै समय अमेरिका जानुभएको थियो भन्ने सुनेको थिएँ। उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन? यदि होइन भने कुन प्रकारको भिसामा जानुभएको थियो, जानकारी गराउनुहोस्।’

गृहमन्त्रीले भिजिट भिसामा गई त्यस देशको नागरिकता लिने विषयमा पनि प्रश्न गरे।

‘भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन?’ भन्ने जिज्ञासा राख्दै, उनले भने, ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ कि मिल्दैन? नैतिकताको प्रश्न आफूबाट सुरु गर्ने कि अरूबाट अपेक्षा गर्ने?’ भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले करिब दुई महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।