काठमाडौं, असार २६ :

यमनका हुतिहरूको आक्रमणपछि रेड सीमा कार्गो जहाज डुब्दा ३ जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ ।

यमन समर्थित हुतिहरूको आक्रमणपछि रेड सीमा डुबेको एक कार्गो जहाजबाट ६ जना चालक दल सदस्यको उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको ज्यान गएको युरोपेली नौसैनिक मिसनले जनाएको छ ।

लाइबेरियाली झन्डा बोकेको र ग्रीसद्वारा सञ्चालन गरिएको एटरनिटी सी नामक सो जहाजमा २५ जना चालक दलका सदस्य रहेको बीसीले जनाएको छ । सोमबार साना डुङ्गाबाट प्रक्षेपण गरिएको रकेट-चालित ग्रेनेडले जहाजलाई ठूलो क्षति पुर्‍याएको र सबै इञ्जिन प्रणाली ठप्प भएको यूके मेरीटाइम ट्रेड अपरेशन्स एजेन्सीले जनाएको छ।

यो आक्रमण मंगलबार पनि जारी रह्यो र रातभर उद्धार कार्य सञचालन गरिएको थियो ।

इरान समर्थित हुतिहरूले जहाज इजरायलतर्फ गइरहेको कारण आक्रमण गरिएको दाबी गरेका छन् । साथै  केही चालक दललाई सुरक्षित स्थानमा लगिएको बताएका छन्। यमनस्थित अमेरिकी दूतावासले भने हुतिहरूले धेरै बाँचेकाहरूलाई अपहरण गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

जहाजमा रहेका २५ मध्ये २१ जना चालक दल फिलिपिनी नागरिक रहेको र बाँकी एक जना रूसी नागरिक गम्भीर घाइते भएको फिलिपिन्स सरकारले जनाएको छ ।

यो एक हप्तामा हुतिहरूले डुबाएको यो दोस्रो जहाज हो। यसअघि आइतबार पनि उनीहरूले अर्को लाइबेरियाली झन्डा र ग्रीक-अपरेटेड कार्गो जहाज म्याजिक सिजमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका थिए। उनीहरूले उक्त जहाज अवैध रूपमा कब्जा गरिएको प्यालेस्टाइनको बन्दरगाहमा प्रवेश निषेध उल्लंघन गर्ने कम्पनीको भएको दाबी गरेका थिए।

हुतिहरूद्वारा मंगलबार सार्वजनिक गरिएको भिडियो फुटेजमा उनीहरूलाई जहाजमा चढ्दै र विस्फोट गराउँदै देखिन्छ जसले गर्दा जहाज डुबेको हो।