
चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोसी) मा गत मंगलबार आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका ती आयोजनामा क्षति पुर्याएको हो । इप्पानका अनुसार उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण रोकिँदा ठुलो भौतिक र आर्थिक क्षति भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको छ । यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हब सबस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानले प्रेस विज्ञप्तिमार्फत बिहीबार जनाएको छ ।
इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली ३ ‘ए’बाहेक अन्य सबै आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका हुन् ।
त्यस्तै निर्माणाधीन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत प्रशारण गर्ने त्रिशूली ३ बी हब सबस्टेसन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा बेहोर्नुपर्ने देखिएको छ ।
‘टिमुरे सुक्खा बन्दरगाहबाट दर्जनौं मालवाहक कन्टेनर र भन्सारविन्दुमा राखिएका सयौं गाडीसमेत बाढीले बगाएको, निर्माणाधीन सुक्खा बन्दरगाह पूर्ण रुपमा खण्डहर बनेको र नेपाल-चीन मुख्य व्यापारिक नाकाको पुल बगाउँदा यसले नेपाली व्यवसायीमा पारेको प्रभावप्रति गहिरो दु:ख व्यक्त गर्दछौं,’ इप्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गर्दछौं ।’
बाढी पहिरोले विध्वंश मच्चाइरहेका बेलामा समेत रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ३६ जनासहित करिब १५० जनाको उद्धारमा नेपाल सरकार, सेना, प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुकताका लागि सम्बद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरणका लागि इप्पानले आग्रह गरेको छ । इप्पानले विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन पनि सरकारसँग माग गरेको छ ।