काठमाडौं, असार २६ :

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा हालै खसेको ड्रोन कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ड्रोन काठमाडौं महानगरपालिका–१०, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका विद्यार्थीहरूले निर्माण गरेका हुन्। 

संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार त्यस कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन् ।

उनले भने, ‘संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई  जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।’

ब्याचलर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी (बीएससी आईटी) पढ्दै गरेका विद्यार्थीहरूले ड्रोन निर्माण गरी थ्रस्ट टेस्ट गर्दै थिए। परीक्षणकै क्रममा ड्रोनको जीपीएस सिग्नल विच्छेद भएपछि त्यो नियन्त्रणबाहिर गई संसद् भवन परिसरमा खसेको बताइएको छ।

यही असार २४ गते बिहान ९:३० बजे संघीय संसद भवन (उडान निशेधित क्षेत्र) को दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको थियो ।

कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य  दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताए ।

प्रहरीले घटनाको अनुसन्धान गर्दा ड्रोन निर्माणका लागि प्रयोग गरिएका उपकरणहरूको खरिद बिल, निर्माण प्रक्रियामा खिचिएका तस्वीर र भिडियोहरू समेत नियन्त्रणमा लिएको छ। 

संसद् भवनमा ड्रोन खसेको विषय सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत मंगलबार प्रतिनिधिसभाको बैठकमा उठाएका थिए।