
संघीय निजामती विधेयकमा कुलिङ पिरियड समावेश गर्ने विषयमा भएको जालझेल छानबिन गर्न गठित विशेष समितिको नेतृत्व अब ‘सभापति’ नै रहने भएको छ।
संसदका महासचिवले समितिको नेतृत्वलाई 'संयोजक' राख्ने प्रस्ताव तयार पारेका थिए, जसलाई सभामुख देवराज घिमिरेले संसदमा वाचन गरेका थिए। तर, नियमावली अनुसार यस्तो समितिमा ‘सभापति’ हुने स्पष्ट व्यवस्था रहेको भन्दै समितिका सदस्यहरूले आपत्ति जनाएपछि सभामुखले निर्णय सच्याउने प्रतिबद्धता जनाएका हुन्।
बुधबार बसेको समितिको बैठकले ‘सभापति’ र ‘संयोजक’बीचको स्पष्ट कार्यगत अन्तर औंल्याउँदै 'सभापति' शब्द नै प्रयोग गर्नुपर्ने निष्कर्ष निकालेको थियो। समितिका अनुसार संयोजकको निर्देशन सिफारिस मात्रै हुने भए पनि सभापतिको निर्देशन बाध्यकारी हुन्छ।
अब ‘सभापति’को हैसियतमा कांग्रेसका जीवन परियार रहनेछन्। समितिमा सुशीला थिङ (कांग्रेस), ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य (एमाले), माधव सापकोटा (माओवादी), गणेश पराजुली (रास्वपा) र रोशन कार्की (राप्रपा) सदस्य छन्।
२१ दिनको कार्यकाल पाएको यो समितिले निजामती विधेयकमा भएको जालझेलको निष्पक्ष छानबिन गर्ने जनाएको छ।