चितवन, असार २७ :

पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १३, गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज (शुक्रबार) मृत्यु भएको हो ।

मृतकसहित तीनजना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । -रासस