झापा, असार २८ :

प्रधानमन्त्री केपी ओली आज (शनिबार) गृहजिल्ला झापा आएका छन् । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिनका लागि उनी यहाँ आएका हुन् ।

उनलाई चन्द्रगढी विमानस्थलमा नेकपा एमालेका कोसी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली शनिबार र आइतबार झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका ३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै इलामको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जनाए ।

असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी-ताराबारी-डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यकर्ता भेलामा सहभागी भएर ओली काठमाडौं फर्किनेछन् । -रासस