काठमाडौं, असार २८ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणका लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा यस्तो बताएकी हुन् । उनले स्टेट, सोसाइटी एन्ड डेभलपमेन्ट जर्नलको विमोचन कार्यक्रममा जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा आधिकारिक माध्यम यो जर्नल बन्ने विश्वास व्यक्त गरिन् ।

जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको उनको भनाइ छ । जर्नलले कम्युनिस्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्बन गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा थप योगदान गर्नसक्ने बताइन् ।

नेकपा एमालेले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसात् गरेको बताइन् । जबजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुबीचमा अझ व्यापक रुपमा पुर्‍याउनुपर्ने बताइन् ।

‘समाज रुपान्तरणका लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यस अर्थमा यो जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा आधिकारिक माध्यमका लागि प्रयास पनि हो,’ उनले भनिन्, ‘जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरु समेटिन नसक्नुलाई अन्यथा रुपमा लिनु हुँदैन । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुबीच अझ व्यापक रुपमा पुर्‍याउनुपर्छ ।’

उनले जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसात् गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन् ।