
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणबारे केही समूहले गरिरहेको झुटा प्रचारप्रति आपत्ति जनाएका छन्। झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आज आयोजनाको उद्घाटनका क्रममा ओलीले आपत्ति जनाएका हुन्।
‘स्पेनमा मान्छे छाडेर आयो भनेर गरिएको प्रचार झुटा हुन्,’प्रधानमन्त्री ओलीले भने, ‘यस्ता विषयमा जवाफ दिनु आवश्यक छैन। ’ उनले भ्रमण सफल र नेपालको हितमा रहेको पनि स्पष्ट पारे ।
विश्व बैंकको सहयोगमा सम्पन्न सो ४ दशमलव ८६ किलोमिटर सडक चवालिस करोड २४ लाख लागतमा समयमै सम्पन्न भएको हो। यो सडक नेपालभरबाट छानिएका १७ नमुना सडकमध्ये एक मानिन्छ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यो सडक विकास निर्माणको नमुना भएको जनाउँदै देशभर मेचीदेखि महाकालीसम्मका परियोजनाहरूलाई समयमै सम्पन्न गर्ने सरकारको अभियान रहेको बताए। उनले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण गरिने घोषणा पनि पारे।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले सञ्चालन गरेको निःशुल्क अनलाइन कक्षाको प्रभावका रूपमा यस वर्षको एसईई नतिजामा १३ प्रतिशतले सुधार आएको पनि जानकारी दिइयो।
समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापा लगायतको सहभागिता थियो।