
धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको पाइएको छ। दुुवै जनाको नाम गणेशकुमार महतो हो र नागरिकता नम्बर १४६८२८८३ रहेको छ।
धुमासनका गणेश (पिता: रामकिसुन महतो) ले २०५६ माघ १३ गते र सोनापुरका गणेश (पिता: रामगुलाम महतो) ले २०५७ फागुन ३० गते धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेका थिए।
सोनापुरका गणेशकुमारले हालै बैङ्कमा खाता खोल्न जाँदा पहिले नै त्यही नम्बरमा अर्को खाता रहेको थाहा पाएपछि दुई व्यक्तिको एउटै नम्बर भएको खुलासा भएको हो।
दुवै जनाले सरकारी प्रणालीमा नागरिकता नम्बर अनिवार्य भएपछि समस्या सुरु भएको बताए। धुमासनका गणेशले कर्मचारीको गल्तीका कारण दुवैजना समस्यामा परेका बताएका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले घटनाबारे थप अनुसन्धान गरिने र अभिलेख हेरेपछि मात्र केही भन्न सकिने जानकारी दिएका छन्।