
‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नारासहित सम्पादक समाज नेपालको आयोजनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा पत्रकार पदयात्रा कार्यक्रम गरियो । गुफाडाँडाको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको प्रचारप्रसारका लागि संचारकर्मीहरूको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित शनिबार करिब १०० जना पत्रकारलाई त्यहाँ लगिएको थियो।
मेलम्ची नगरपालिकाबाट पूर्वतर्फ करिब १५ किलोमिटर टाढा र काठमाडौंबाट ५८ किलोमिटरको दूरीमा अवस्थित गुफाडाँडा प्राकृतिक सौन्दर्य, जलवायु चेतना र धार्मिक आस्थाको केन्द्रको रुपमा चिनिँदै आएको छ।
जलवायु चेतनाको केन्द्र
वि.सं. २०७५ सालमा गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन महत्वपूर्ण उपलब्धि मानिन्छ। सम्मेलनमा ७७ वटै जिल्लाका मेयर–उपमेयर तथा जलवायु विज्ञहरूको उपस्थिति रहेको थियो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त कार्यक्रममा ७७ जिल्लाका नाममा झण्डा फहराइएका थिए र १० बुँदे घोषणापत्र समेत जारी गरिएको थियो। त्यस अवसरमा मानवले पृथ्वी बोकेको झल्को दिने जलवायु स्तम्भ (स्ट्याच्यु) निर्माण गरिएको थियो। हालसम्म पनि हरेक वर्ष जनवरी १ तारिखमा जलवायु सम्मेलन आयोजना हुँदै आएको छ।
स्थानीय सरकारको प्रयास, संघीय र प्रदेश सरकारको उपेक्षा
मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार, पर्यटकीय र जलवायु चेतनाको दृष्टिकोणले महत्वपूर्ण गन्तव्य भए पनि गुफाडाँडा संघीय र प्रदेश सरकारबाट उपेक्षित अवस्थामा रहेको छ। उनले भने, ‘राज्यको बेवास्ताका बाबजुद स्थानीय सरकारले यस वर्ष १३ करोड रुपैयाँ बजेट छुट्याएर पूर्वाधार निर्माणमा लागिरहेको छ।’त्यस बजेटबाट सडक, डम्फु पार्क, बुद्धको मूर्ति र झाँक्रीको मूर्तिको निर्माण गरिने भएको छ।
अझै जोखिमयुक्त सडक, आन्तरिक पर्यटकको सम्भावना
वडा नं–९ ज्यामिरेका वडाध्यक्ष किरणदीप खड्काका अनुसार गुफाडाँडासम्म पुग्ने बाटो साँघुरो र जोखिमपूर्ण छ, जसले पर्यटकको सहज आगमनमा बाधा पुर्याएको छ। ‘गुफाडाँडाको विकास र प्रचारप्रसारले मात्र होइन, त्यहाँका स्थानीय उत्पादन (आलु, मकै, कोदो आदि)को बजार व्यवस्थापनले पनि जनताको जीवनस्तर सुधार गर्न सकिन्छ,’ उनले बताए।
पर्यटन, प्रकृति र आध्यात्मिकताको संगम
गुफाडाँडाको नामको उत्पत्ति यहाँ अवस्थित प्राचीन प्राकृतिक गुफाबाट भएको हो। स्थानीय अनुसार, परापूर्वकालदेखि लामा गुरुहरूले ध्यान साधनाका लागि प्रयोग गर्ने गुफा भएकाले यो स्थान धार्मिक महत्त्वले पनि भरिपूर्ण छ। समुद्री सतहदेखि करिब २६०० मिटर उचाइमा अवस्थित गुफाडाँडाबाट लाङटाङ, जुगल र दोर्जे लाक्पा हिमाल, साथै आसपासका गाउँ, खोलाहरू अवलोकन गर्न सकिन्छ।
हरेक हिउँद र वसन्त ऋतिमा यहाँको दृश्य थप आकर्षक बन्ने गर्दछ। हरियो घाँस, चिसो हावा, स्वाभाविक फूलहरू र शान्त वातावरणले गुफाडाँडालाई शान्ति र सुन्दरता खोज्नेहरूका लागि आदर्श गन्तव्य बनाएको छ। कसैले यसलाई स्विजरल्याण्डको पहाडी सौन्दर्यसँग तुलना गरेका छन् भने कसैले यार्सा गुम्बा फेला पारिने पाटन जस्तै अनुभूति गरेका छन्।
सञ्चारकर्मीमार्फत आवाज उठाउँदै
सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले जलवायु परिवर्तनका असरहरूबारे जनचेतना फैलाउन संचारकर्मीको भूमिका अहंम हुने बताए।
‘राष्ट्रपतिको उपस्थिति रहेको सम्मेलनमा सबै संचारकर्मी पुग्न नसकेको महसुस भएर हामीले यो पदयात्रा कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने। डोटेलले मेलम्चीमा गएको बाढीले गुफाडाँडाको वातावरणीय संवेदनशीलतालाई थप झल्काएको बताउँदै त्यहाँ पुग्ने पर्यटकलाई चाउचाउ र बिस्कुट हैन, स्थानीय उत्पादनबाटै सत्कार गर्न पनि सुझाव दिए।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले गुफाडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको भन्दै वातावरणीय जागरणका दृष्टिकोणले पदयात्रा कार्यक्रमको सकारात्मक सन्देश रहेको बताए।कार्यक्रममा सम्पादक समाज नेपालका संरक्षक किरण वैद्य, उपाध्यक्ष जुनारबाबु बस्नेत, महासचिव डोटेल लगायत संस्था पदाधिकारी र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।