लुम्बिनी, भदौ २७ :

लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । 

संविधान दिवस मनाउने कार्यक्रम अन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो । 

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन भएको छ । 

आगामी असोज २, ३ र ४ गते प्रदेशमा विविध कार्यक्रम आयोजना गरिने छ । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । 

यसैगरी, असोज ३ गते संविधान दिवसको मूल समारोह कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरी  गरिने र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने जनाइएको छ । 

असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाको समन्वयमा वृक्षारोपण गरिने छ ।