
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन् ।
उनले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गरे ।
दाहालले भने, ‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ उनले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरु कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मिटरब्याज पीडितको समस्या झन् जटिल बन्दै गएको उल्लेख गरे ।
उनले सरकारका गतिविधिबाट आमजनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्तासमेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरे, ‘यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’ उनले सरकारका गतिविधिले जनविश्वासको गम्भीर प्रश्न खडा गरेको आरोप पनि लगाए ।