
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कीर्तिपुरस्थित मैदानमा निर्माणाधीन फ्लडलाइट र प्यारापिट हेर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दाहाललाई ‘बनिरहेको प्यारापिट हेर्न’ र ‘जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न’ सुझाव दिएका हुन्।
यसअघि अध्यक्ष दाहालले संघीय संसद्मा कीर्तिपुरमा फ्लडलाइट र प्यारापिट नराखिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।
उनले आफ्नो कार्यकालमा काम अघि बढेको भन्दै अहिलेसम्म कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनी प्रश्न गरेका थिए ।
ओलीले दाहालको आलोचनालाई जवाफ दिँदै भनेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, तपाईंले केही गर्नु परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्याङ्क राखेर जवाफ दिनु पनि परेन।’
ओलीले वर्तमान सरकार समय तोकेर काम गरिरहेको भन्दै अघिल्लो सरकारमा निर्णय र कार्यान्वयनको अभाव रहेको टिप्पणी गरेका छन्। उनले भने, ‘तपाईंका त न कुनै वाचा, न निर्णय, न संकल्प, न काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।”
उनले देशको अर्थतन्त्रको अवस्थाबारे पनि टिप्पणी गर्दै दाहाल नेतृत्वको सरकारले जर्जर पारेको अर्थतन्त्र अहिले सुधारोन्मुख रहेको दाबी गरे। ‘तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ ओलीले लेखेका छन्।