
चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको जलवीरे झरना पछिल्ला वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
लामो झरना भनेरसमेत चिनिने यस झरनाको उचाइ झन्डै १०२ मिटर रहेको छ । नारायणगढ-मुग्लिन सडकखण्डको किनाराबाट करिब १ किलोमिटर उकालो हिँडेपछि यो झरनामा पुग्न सकिन्छ । वन क्षेत्रमा रहेको यो झरनाले प्रकृतिप्रेमीहरू र साहसिक यात्रामा रुचि राख्नेहरूको ध्यान तान्न थालेको छ ।
झरनाको फेदमा चार-पाँच फिट गहिरो प्राकृतिक पोखरी बनेको छ । जसलाई झरना विकास समितिले थप व्यवस्थापन गरेर आकर्षक बनाएको छ । गर्मी महिनामा यहाँ पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्ने गरेको छ । झरना क्षेत्र वरपर अहिले क्यानोनिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङजस्ता साहसिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।
विभिन्न साहसिक खेल कम्पनीहरूले झरना विकास समितिसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरू अगाडि बढाइरहेका छन् ।
पर्यटकहरूको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । राजधानी काठमाडौंबाट मात्र करिब पाँच घण्टाको यात्रा गरी झरनामा पुग्न सकिने भएकाले आन्तरिक पर्यटकका लागि यो झरना गर्मी र थकानबाट मुक्ति पाउने प्रमुख गन्तव्य बन्दै गएको छ ।
यहाँ प्रवेश शुल्क स्वदेशी पर्यटकका लागि ५० रुपैयाँ र विदेशीका लागि १०० रुपैयाँ तोकिएको छ । क्यानोनिङका लागि भने स्वदेशीले १०० रुपैयाँ र विदेशीले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।
सामान्य दिनहरूमा दैनिक १०० देखि २०० जना पर्यटक यहाँ पुग्ने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन यो संख्या ४ सय नाघ्ने गरेको जलवीरे झरना विकास समितिका सचिव अमर अधिकारी बताउँछन् ।
उनकाअनुसार नयाँ वर्षजस्ता विशेष अवसरमा एकै दिनमा १५ सयभन्दा बढी आगन्तुक झरना अवलोकन गर्न आएको रेकर्ड छ । झरनाको समग्र विकासका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रूपमा संरचनात्मक पूर्वाधार निर्माणमा लगानी गरिरहेका छन् ।
हालसम्म कालोपत्रे सडक, ढुंगाको सिँढी, रेलिङ, गोलघर, शौचालय, धारा, टिकटघर तथा पौडी पोखरी निर्माण भइसकेका छन् । साथै तीनवटा सटर र होमस्टे सञ्चालनको तयारीसमेत भइरहेको छ ।
आगामी दिनमा यहाँ जिपलाइन र साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना बनाइएको छ । जलवीरे झरना अहिले सामाजिक सञ्जालहरू- जस्तै टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत अत्यधिक चर्चित बनेको छ । झरनाको मनमोहक दृश्य, चिसो वातावरण र रमणीयता हेर्न तराई क्षेत्रका साथै भारतका विभिन्न भागहरूबाट पनि पर्यटकहरू आउने गरेका छन् ।
भारतीय पर्यटक जान्ह्वी बर्मा भन्छिन्, ‘यो झरना अत्यन्त सुन्दर छ । यस्तो प्राकृतिक सौन्दर्य भारतमा विरलै छ ।’
नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा, गोरखालगायत स्थानबाट पनि उल्लेखनीय संख्यामा पर्यटक आउने गरेको झरना व्यवस्थापन समितिका सचिव अधिकारी बताउँछन् ।
चितवनको गर्मी मौसममा शीतलता दिने यो झरनाले केवल पर्यटकीय क्षेत्रमै होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ । यसरी नै संरक्षणसँगै योजनाबद्ध रूपमा विकास गर्न सकिएमा जलवीरे झरना निकट भविष्यमा राष्ट्रियस्तरको प्रमुख पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका छैन ।