कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्यामा विस्तार गरी अत्याधुनिक स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी अघि बढेको छ। अस्पतालको सेवा प्रवाह, गुणस्तर अभिवृद्धि तथा स्तरोन्नतिका विषयमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले यस्तो योजना सार्वजनिक गरेको हो।
नगरपालिकको सभाकक्षमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आठ जनाभन्दा बढी सहभागीले अस्पतालको वर्तमान सेवा, औषधि व्यवस्थापन, पूर्वाधार विकास तथा थप गर्नुपर्ने स्वास्थ्य सेवाका विषयमा जिज्ञासा राखेका थिए। सहभागीमध्ये केहीले अस्पताललाई ३५ शय्याबाट १०० शय्यामा विस्तार गर्दा मानसिक स्वास्थ्य उपचार सेवासमेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
यसैगरी अन्य सहभागीले फार्मेसी व्यवस्थापनलाई प्रभावकारी बनाउन, बिरामीलाई सरल, सहज र सुरक्षित उपचारको व्यवस्था गर्न तथा अस्पतालका सेवा अनलाइन प्रणाली र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमार्फत सञ्चालन गर्न सुझाव दिएका थिए।
सहभागीका जिज्ञासाको जवाफ दिँदै नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अस्पताललाई आवश्यकता, प्राथमिकता र उपलब्ध स्रोतसाधनका आधारमा क्रमिक रूपमा स्तरोन्नति गर्दै लगिएको बताए। विगतमा दैनिक १५० जना बिरामीसमेत पुग्न मुस्किल हुने अस्पतालमा अहिले दैनिक ११ देखि १२ सय जनासम्मले सेवा लिइरहेको उनले जानकारी दिए।
नगरपालिकामा तीव्र रूपमा बढिरहेको बसाइँसराइ र करिब दुई लाख ५० हजार जनसङ्ख्यालाई मध्यनजर गर्दै अस्पतालको क्षमता र सेवा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो।
अस्पतालको पूर्वाधार विकासका लागि प्रदेश सरकारको ३ करोड ५० लाख रुपैयाँ बजेटबाट भवन निर्माण प्रक्रिया अघि बढेको छ। उक्त योजनालाई विस्तार गरी ४४ करोड रुपैयाँ लागतका दुईवटा ब्लक निर्माण गर्ने वा कम्तीमा १२ करोड रुपैयाँको लागतमा भवन निर्माण गर्ने विषयमा प्रदेश सरकारसँग छलफल भइरहेको नगरप्रमुख कार्कीले जानकारी गराए। दीर्घकालीन रूपमा अस्पतालको विकास र सेवा विस्तारका लागि मास्टर प्लान बनाएर अघि बढ्ने योजना रहेको उनले उल्लेख गरे।
नयाँ निर्माण हुने भवनमा अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) स्थापना गर्ने योजना छ। त्यसैगरी, हालको भवनको पछिल्लो भागमा सघन उपचार कक्ष (आईसीयू) सेवा विस्तार भइरहेको छ। रेडियोलोजी सेवालाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सिटी स्क्यान र एमआरआई सेवा सञ्चालन गर्ने तयारीसमेत नगरपालिकाले गरेको छ।
औषधि खरिद तथा टेन्डर प्रक्रियामा देखिएका जटिलता समाधान गर्दै पारदर्शी ढङ्गले गुणस्तरीय औषधि उचित मूल्यमा उपलब्ध गराउने प्रयास भइरहेको नगरप्रमुख कार्कीले बताए। अस्पतालका प्रयोगशालालगायत अन्य सेवाहरूलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।
त्यसैगरी, बिरामीको पारिवारिक स्वास्थ्य इतिहास र क्यूआर कोडसहितको हेल्थ कार्ड निर्माण भइरहेको छ। उक्त कार्डमार्फत बिरामीले पिन नम्बर प्रयोग गरी जुनसुकै स्थानबाट आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्न सक्ने व्यवस्था मिलाउन लागिएको छ।
अस्पताल व्यवस्थापन तथा सेवा प्रवाहका क्रममा देखिएका कमी-कमजोरी सुधार गर्न सबै पक्षको रचनात्मक सुझाव आवश्यक रहेको नगरप्रमुख कार्कीले बताए। अस्पतालको वास्तविक अवस्था नबुझी बाहिरबाट टीकाटिप्पणी गर्नुभन्दा अस्पतालमै आएर सेवा प्रवाहबारे जानकारी लिन र सुधारका विषयमा छलफलमा सहभागी हुन उनले राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालालाई आग्रह गरे। सार्वजनिक सुनुवाइमार्फत अस्पतालको सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्दै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
सो अवसरमा नगर अस्पतालबाट भइरहेको उपचार सेवा , बिरामी र बिरामीका तथा आफन्तहरुको प्रतिक्रयालाई समेटेर तयार पारिकएको भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो । नगरप्रमुख कार्कीको नेतृत्व र सिंगो कार्यसमितिको पहलकदमीमा नगर अस्पताल नमुना नगर अस्पतलको रुपमा विकास भइरहेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत डा श्रवणकुमार शाह, अस्पतालका कार्यकारी निर्देशक डा. रामप्रसाद पौडेल, वडाध्यक्षहरु स्वास्थ्य शाखा प्रमुख, अस्पतालका कर्मचारी, विभिन्न पेसा-व्यवसायमा आबद्ध प्रतिनिधिहरू र स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।