नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक मूल्यमान्यता र संविधानलाई कमजोर पार्ने काम गरेको आशंका व्यक्त गरेका छन्।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पार्ने काम गरिरहेको आशंका व्यक्त गरे।
उनले उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा, हाल कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधिले राज्यको जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटी जस्तो बनाइएको तर्क गरे ।
चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीको साथमा रहेका र जिताउने अभियानमा खटिएका एक चर्चित पात्रको विषयलाई लिएर, प्रधानमन्त्रीले नै समाजका अङ्गहरूलाई प्रभावित वा नियन्त्रण गर्न परिचालन गर्न खोजिएको हो की भन्ने आशङ्का उब्जिएको उनले बताए ।
महासचिव पोखरेलले सरकारका गतिविधिहरुप्रति स्वयं रास्वपा समेत सन्तुष्ट नरहेको दाबी गरे ।
उनले जनताले ठूलो अपेक्षा गरेर दिएको जनादेश विपरीत देशको स्थिति नकारात्मक दिशामा गएकाले यसलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको धारणा राखे ।