
साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा करेक्सन देखिएको छ । सोमबर ३५.०९ अंकले घटेको सेयरबजार मंगलबार भने ३४.४६ अंकले बढेको छ । योसँगै नेप्से २७६०.१७ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.०४ अंकले बढेर ४८१.४० अंकमा चढेको छ ।
नेप्सेमा आज ३१७ वटा कम्पनीको ७४ हजार ५७ पटकको कारोबारमा दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच भए । जसअनुसार आज नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको दिनमा सेयर बजारमा हरियाली छाएको छ । आजको दिनमा २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १२ वटा समूहको सूचक बढ्दा सामूहिक लगानी कोष समूहको सूचक भने स्थिर रह्यो ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सुपर मादी हाइड्रोपावर लिमिटेड परेको छ । जसको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ । यसको सेयरमूल्य प्रतिकित्ता १०६४.९९ रुपैयाँ कायम भएको छ ।
बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसको सेयर मूल्य सर्वाधिक ४.६४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९५५.१३ रुपैयाँमा झरेको छ ।
नेप्सेमा आज बुटवल पावर कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८९३ रुपैयाँमा रह्यो । यसको ५२ करोड ३२ लाख ६३ हजार ६३ रुपैयाँको सेयर कारोबार भएको छ ।