
राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाए । उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले पहिला हिमाली भेगमा बसोवास गर्ने मानिसहरु वर्ष दिनमा एक पटक पनि ननुहाउने गरेको भन्दै अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने गरेको बताए ।
यो एउटा उपलब्धि भएको पनि बताए । उनले हिमाली क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।
सांसद शेर्पाले भने, ‘अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ । केही भएन, केही भएन भन्ने छ । भएको चाहीँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरुले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज इकोनोमी राम्रो भएको छ । ’ सांसद शेर्पाले अवसर देखिने ठाउँमा जो कोही पनि जाने बताए ।