
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको वर्ष दिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् ।
मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरे । मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ ।
मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्वन गर्दै आवश्यक कानूनी सुधार भएको बताए । उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए । उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्न वैदेशिक अनुदानको लागि सम्झौता भएको उल्लेख गरे ।
मन्त्री ठकुरीले आफ्नो एकवर्षे कार्यकाल औसत रुपमा सफल भएको दाबी गरे । उनले हिमाली क्षेत्रमा जीविकोपार्जनका लागि यार्सा निकासीका लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि बताए । उनले वन क्षेत्रको वृद्धि, विस्तार काठको उपयोगमा समेत वृद्धि भएको दाबी गरे ।
उनले मन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको पनि बताए । मुलुकलाई काठमा आत्मनिर्भर बनाउन मन्त्रालय केन्द्रित रहेको उनको भनाइ छ । उनले वनभित्र रहेका सडेगलेका रुखहरुको उपयोगमा बढावा दिइएको पनि बताए । वन मन्त्रालयमार्फत एक वर्षको अवधीमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिइएको पनि शाहीको भनाइ छ ।
‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउन हामी केन्द्रित भएका छौं । वनभित्र रहेका सुकेका तथा कुहिएका काठहरुको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौं,’ उनले भने, ‘यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।’
उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए । मन्त्री शाहीले वन व्यवस्थापन तथा संरक्षण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले विभिन्न क्षेत्रमा सम्भावित कार्बनको व्यापारको खाकासमेत तयार पारिसकिएको जानकारी दिए । उनले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन पहल भएको बताए ।