काठमाडौं, असार ३२ :

साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार ३५.०९ अंकले घटेको सेयरबजार मंगलबार ३४.४६ अंकले बढेको थियो । आज (बुधबार) पनि ३४.६१ अंकले सेयरबजार बढेको छ । योसँगै नेप्से २७९४.७६ विन्दुमा रोकिएको छ ।  यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.८६ अंकले बढेर ४८९.२७ अंकमा चढेको छ ।

नेप्सेमा आज ३३० वटा कम्पनीको ९९ हजार ५०५ पटकको कारोबारमा चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाएको आजको दिनमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको मात्र घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १२ वटा समूहको सूचक बढ्दा व्यापार समूहको सूचक भने घट्यो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा केबीएल डिबेन्चर र थ्री स्टार हाइड्रोपावर लिमिटेड परेका छन् । यी दुवै कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढे । जसअनुसार केबीएल डिबेन्चरको सेयरमूल्य प्रतिकित्ता १४१२.९० रुपैयाँ कायम हुँदा थ्री स्टारको सेयरमूल्य ७३१.७० रुपैयाँ कायम रह्यो ।

बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा माईखोला हाइड्रोपावर लिमिटेड परेको छ । यसको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१५.९५ रुपैयाँमा झरेको छ ।

नेप्सेमा आज बुटवल पावर कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । बुटवल पावरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९५२ रुपैयाँमा रह्यो । यसको ६१ करोड ८७ लाख २६ हजार ६९४ रुपैयाँको सेयर कारोबार भएको छ ।