
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक अब एक वर्ष मेरो त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको बताए । उनले सुरुमा दुईवटा पार्टी मिलेर राम्रो कामको सुरुवात गरे पनि अहिले बरालिएको बताए ।
अहिले सरकार खाली दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताए । ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताए । अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने उनको भनाइ छ।
महामन्त्री थापाले भने, ‘अहिले हामी २०८२ सालमा छौँ । २०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । सरकारमा छौँ । यो दुई वर्षको समय खेर फाल्ने समय हामीसँग छैन । प्रधानमन्त्रीजीले बेला बेलामा के भनेको सुन्छु भनेः अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु । त्यो हिसाव कितावको बारेमा अब कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि के हामी ३६५ दिन नै घट्यो, ६४ भयो, ६३ भयो । हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको कुरा, यो तीन वर्ष हामी के गर्छौं भन्ने हो । एक वर्ष के गर्ने, एक वर्ष नेपालले के पाउने ? अर्को इलेक्शनसम्मको एक एक दिनको प्रयोग हामीले गर्नुपर्छ । शुरुमा हामीले मेहनत पनि गर्यौं, दुई वटा पार्टी मिलेर सरकार बन्दै गर्दा एउटा गति पनि समातेको थियो । बीचमा अहिले यो बरालिएको छ । अहिले खालि यो दिन गनेर बसेको जस्तो भएको छ । आज आईतवार, सोमवार आउँछ, त्यसपछि मंगलवार ... । यसबाट बाहिर निकाल्नुपर्छ । यो दुई वर्ष स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार सबैले काम गर्नुपर्छ ।’
महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महसुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताए ।